काठमाडौं । काठमाडौंको कमलादीमा शुक्रवारदेखि स्काइ वाक टावर सञ्चालनमा आएको छ । साहसिक पर्यटनको हब बनाउने उदेश्यले यो टाबर सञ्चालनमा ल्याइएको हो ।
७८ दशमलव ५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्न सकिन्छ अर्थात स्काई वाक गरिन्छ । सिसामाथि हिँड्ने साहसिक यात्राका लागि काठमाडौंको यो एकमात्र गन्तव्य हो ।
स्काइ टावरमा गएर स्काइ वाक गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । स्काइ वाक भएको २५ औं तलाभन्दा माथि जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवश्यकता पर्दछ, जसको थप एक हजार रुपैयाँ शुल्क लाग्छ । टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बालबालिकालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिइएको छ । स्काइ वाक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।
वन्डर्स ग्रुप प्रा।लि।का अध्यक्ष आकर्षण पोखरेलका अनुसार दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा बढी मानिस ओहोर–दोहोर गर्न सक्छन् । ुस्काइ वाकका लागि टावरको २५ औं तला उक्लिनु पर्छ । यो तल्लामा सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ । सिसामाथि हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव गर्न सकिन्छ । साहसिक पर्यटनका पारखीहरूले यो हिँडाइको मज्जा लिन सक्ने कम्पनिको अपेक्षा छ ।
रानीपोखरी तथा घण्टाघर टावर स्काइ वाकको आँगनमै भएको अनुभव गर्न सकिन्छ । स्काइवाकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडेको तथा अवतरण गरेको समेत सजिलै देख्न सकिन्छ ।
एक जना व्यक्तिले करिव आधा घण्टामा स्काइ वाक गर्दै काठमाडौं उपत्यका भित्रका रमणीय दृष्यहरु अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
स्काइ वाकको संरचनाले करिव एक रोपनी क्षेत्रफल ओगटेको छ । स्काइ वाकमा एक पटकमा पाँच सय मान्छे अट्न सक्छन् । टावरमा हिँड्नका लागि बेलायती गुणस्तरको सिसा प्रयोग गरिएको छ । उच्च गुणस्तरको भएकाले यो सुरक्षित भएको कम्पनीको भनाइ छ । टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब छ, जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्छन् । स्काइ वाक टावरको परिसरमा थिएटर तथा फास्टफुड रेष्टुराँ पनि छ , जहाँ शुक्रबार तथा शनिबार सांगीतिक कार्यक्रम आयोजना गरिने छ ।
जापानमा इन्जिनियरिङको अध्ययन गरेका आकर्षण पोखरेलले वन्डर्स ग्रुप प्रालिमार्फत नेपालमा स्काइ वाक बनाउने परियोजनाको थालनी गरेका थिए । कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष पोखरेलसहित तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छन् ।
उनीहरुबाहेक अन्य करिब ५ दर्जन व्यक्तिले यो परियोजनामा लगानी गरेका छन् । १३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनाको कुल लागत २ अर्ब रुपैयाँमा छ । २०७६ मंसिरमा शिलान्यास गरिएको यो परियोजना करिब २ वर्षभित्रैमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि कोभिड १९ को महामारीले यसको निर्माणलाई प्रभावित पारेको कम्पनिले जनाएको छ ।
यही कम्पनिले इलामको कन्याममा स्काइ वाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा स्काइ वाक बनाउने तयारी गरिरहेको छ ।


















