२ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै

25

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सबै प्रक्रिया पूरा गरेर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले ढिलोमा शुक्रबारसम्ममा परीक्षाफल प्रकाशित हुने जानकारी दिए। स्रोतका अनुसार सम्भव भए आजै परीक्षाफल प्रकाशित गर्ने तयारी छ । अन्यथा बिहीबार वा शुक्रबारभित्र परीक्षाफल प्रकाशित हुने भएको छ । यसै विषयमा आज बोर्डको बैठक बोलाइएको छ ।

सोमबार बसेको बोर्डको बैठकले खुला विद्यालयका ४ सय २२ परीक्षार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको छ । तीमध्ये मोरङको मात्रै ५ वटा केन्द्रका छन् । मोरङको ५ वटा केन्द्रमा नक्कली परीक्षार्थीले परीक्षा दिएको कारण ती केन्द्रका परीक्षा रद्द गरिएको हो । बोर्डले मंगलबार मध्यरातसम्म अन्तिम रुजु गर्नुका साथै हाजिर नगरेका, एउटा विषय दिनुपर्नेमा अर्कै विषय दिएका विद्यार्थीको तथ्याङ्क तयार गरेको थियो ।

बोर्डले २०७९ सालको एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्नेछ । जसअनुसार ३० देखि ४० प्रतिशत अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउनेछन् । अर्थात ११ कक्षा पढ्नलाई अनिवार्य रूपमा १ दशमलब ६ ग्रेड प्योइन्ट एभरेज ९जीपीए० ल्याउनुपर्छ । २०७२ सालको निर्देशिका अनुसार ९० भन्दा माथि र १०० प्रतिशत कम अंक ल्याउने विद्यार्थीको जीपीए ए प्लस हुनेछ ।

एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा सरोकारवालाको बारम्बारको चासोपछि सोमबार बसेको बोर्डको बैठकले पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डका एक सदस्यका अनुसार नयाँ ग्रेडिङ लागु भए धेरै विद्यार्थी अनुत्तीर्ण हुने भयले पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरिएको हो । नयाँ निर्देशिकामा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था थियो । ३५ प्रतिशत अंक नल्याए नन् ग्रेडेड (एनजी) हुने र ती विषयमा पुनः परीक्षा दिनुपर्ने व्यवस्था थियो । बोर्डका अध्यक्ष शर्माले गएको शैक्षिक सत्रमा पुरानै पाठ्यक्रमअनुसार पठनपाठन भएको कारण पुरानै ग्रेड लागु गर्ने निर्णय भएको जानकारी दिए।

यो वर्ष पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित भए तापनि आगामी वर्ष नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने तयारी बोर्डको छ । यो वर्ष ८ सय पूर्णाङ्कको परीक्षा दिएका एसईईका विद्यार्थीले आगामी वर्ष ७ सय पूर्णाङ्कको परीक्षा दिने व्यवस्था छ । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here