एजेन्सी । चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको जिब्रोमा चकलेटको स्वाद बसेको हुन्छ । चकलेट स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । चकलेट खाँदा मानसिक स्वास्थ्यलाई पनि फाइदा मिल्छ । हरेक वर्ष जुलाई ७ मा विश्व चकलेट दिवस मनाइन्छ । चकलेटका सौखिनका लागि यो दिन विशेष हुनसक्छ । आज हामी तपाईंलाई सही मात्रामा चकलेट खाँदा स्वास्थ्यलाई के कति फाइदा पुग्छ भन्नेबारे जानकारी दिँदै छौँ ।
मुटुको स्वास्थ्य राम्रो हुन्छ
डार्क चकलेटमा पाइने एन्टिअक्सिडेन्टले रक्तचाप कम गर्न सक्छ । यी पोषक तत्त्वहरूले रगत जम्ने जोखिम कम गर्छ र हृदयमा रक्त प्रवाह बढाउँछ । यसले स्ट्रोक, कोरोनरी हार्ट डिजिजको जोखिम कम गर्न सक्छ । तर, मुटु रोगका बिरामीले चकलेट खानुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
चकलेटमा पाइने फ्लाभोनोलले प्रतिरक्षा प्रणालीलाई अत्यधिक सक्रिय हुनबाट रोक्छ र अक्सिडेटिभ तनाव कम गर्छ । फ्लाभोनोलहरू विशेष गरी एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणका लागि परिचित छन् । एन्टिअक्सिडेन्टले प्रतिरक्षामा मद्दत गर्दछ किनभने यसले हाम्रो कोशिकालाई सुरक्षित राख्छन्, जबकि प्रतिरक्षा प्रणालीले रोगहरूसँग लड्छ । समग्रमा, चकलेटले प्रतिरक्षा बलियो बनाउन मद्दत गर्दछ ।
कोलेस्ट्रोल नियन्त्रण हुन्छ
डार्क चकलेटको सेवनले उच्च कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ । एक अध्ययनमा डार्क चकलेट खाँदा खराब कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको स्तरमा उल्लेख्य कमी आएको पाइयो । चकलेटमा पाइने खराब कोकोले खराब कोलेस्ट्रोललाई कम गर्छ । यसमा प्रचुर मात्रामा शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छन् जसले रक्त प्रवाहमा सहयोग पुर्याउँछ र लिपोप्रोटिनलाई अक्सिडेटिभ क्षतिबाट बचाउँछ ।


















