नवनियुक्त मुख्यमन्त्री उद्धव थापाद्वारा शपथ ग्रहण

52

 

मोरङ । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् ।

तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री थापाको तयारी थियो । तर मन्त्रीका लागि माओवादीमा विवाद भएपछि थापाले मुख्यमन्त्रीमा निर्धारित समयभन्दा एक घन्टा ढिलो शपथ ग्रहण गरेमा थिए ।

माओवादीले मन्त्रीका लागि नाम सिफारिस नगर्नुका साथै शपथ ग्रहण कार्यक्रममा उपस्थित पनि नभएपछि मुख्यमन्त्री थापाले कांग्रेसले प्रदीपकुमार सुनुवार, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को कार्य विभाजनपछि हुने जनाएको छ ।

माओेवादी केन्द्रका जीवन आचार्यलाई मन्त्री नियुक्त गरी शपथ ग्रहणको तयारीमा रहेका बेला माओवादीमा विवाद चर्केकोले शपथ ग्रहणमा उपस्थित नभएको एक प्रदेश सांसदले बताए । माओेवादीका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका कान्छा ज्वाइँ हुन् । यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री भएको भन्दै अन्य सांसदहरूले विरोध गरेमा थिए । माओवादीमा आचार्यलाई मन्त्री बनाउन नहुनेको संख्या बढी भएकाले विवाद भएको एक प्रदेश सांसदले जनाए।

थापाले गठबन्धनमा रहेका प्रत्येक दलबाट एक–एक जना मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल गठन गरी zपथ ग्रहण गर्ने तयारी गरेका थिए तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने जनाएपछि दुई जना मन्त्रीसहित तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संवैधानिक व्यवस्थाविपरीत कांग्रेस नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चौतर्फी विरोधकाबीच शपथ ग्रहण गराइएको हो ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्‍याउनु संवैधानिक व्यवस्था विपरीत भएको भन्दै चोतर्फी आलोचना भइरहेको छ ।

एमाले संसदीय दलले संवैधानिक व्यवस्था विपरीत प्रदेश प्रमुखले मुख्यमन्त्रीमा थापालाई नियुक्त गरेकोविरूद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेर कानुनी उपचार खोज्ने तयारी गरेको छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखबाहेक १२, नेकपा (एकीकृत समाजवादी)का ४, जनता समाजवादी पार्टीको एक र प्रदेशसभा सदस्यको हैसियतमा सभामुख बाबुराम गौतम गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेका थिए ।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न बिहीबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here