तारकेश्वर नगरपालिकाद्वारा वृक्षरोपण

26

काठमाडौं । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षरोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षरोपण गरिएको हो ।

हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ । साथै वडा नं १ देखि ११ सम्म वृक्षरोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिनुभयो ।

तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डीकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरेले भन्नुभयो, “वृक्षरोपण अभियान सरकारको हो । यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ ।”

जनप्रतिनिधिहरुले वृक्षरोपण गर्ने उद्देश्यले फलफूलसहितका पाँच हजार बिरुवा ल्याइसक्नुभएको र ११ वटै वडामा वृक्षरोपण गरिने उहाँको भनाइ छ । बिरुवाका लागि काठमाडौँ जिल्ला समन्वय समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो ।

आजको वृक्षापण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here