काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा नक्कली मोही खडा गरेर दिएको प्रकरण फेरि संसद्मा उठेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले बुधबारको संसद् बैठकमा बोल्ने क्रममा ललिता निवासमा नक्कली मोही खडा गर्ने निर्णय तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पालामा भएको दाबी गरे।
शाहीले ललिता निवास प्रकरणमा तत्कालीन दुई प्रधानमन्त्रीहरु बाबुराम र माधव नेपाललाई पक्राउ गरेर जेल हालिनुपर्ने बताए।
उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्मको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरिएको बताए।
त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ साल असोज १८ गते थप नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा अपचलन गरिएको उनले दाबी गरे।
‘११३ रोपनी सरकारी जग्गा चार पटकको मन्त्रिपरिषद्बाट नक्कली मोही खडा गरेर दिएका छन्। मन्त्रिपरिषद्को निर्णय गरेर बालुवाटारको जग्गा बेच्नेहरु अहिले संसद्मा आउँछन्’, उनले भने, ‘त्यस प्रकरणमा टिप्पणी उठाउनेहरुमाथि कारबाही गरेर अहिलेका मन्त्रीहरुले शक्ति प्रदर्शन गरिरहेका छन्। धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तो भएको छ। यदि दम र हिम्मत छ भने काम गर्ने क्षमता छ भने तत्कालीन दुईजना प्रधानमन्त्रीहरुलाई जेल हालेर देखाउनुस्।’

















