१३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने

180

हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने भएको छ । साउन २२ गतेको मन्त्रिस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याविन, एन.आई.सी.यू र आ.ई.सी.यू बाहेक अन्य सम्पूर्ण शय्या आगामी भदौ १ गतेदेखि निःशुल्क रुपमा बिरामीलाई उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक एवम्  प्रवक्ता दिपक प्रसाद तिवारीले जानकारी दिनुभयो ।

मन्त्रालयका आयुर्वेद चिकित्सक डा. रविन भुषालद्वारा जारी सूचना अनुसार सबै अस्पताललाई निर्देशन जारी गर्दै भदौ १ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्न भनिएको छ । जिल्ला अस्पतालहरुबाट न्यूनतम २५ रुपियाँदेखि पाँच सय रुपियाँसम्म प्रति शयुयाको बिरामीहरुले रकम तिरेकोमा भदौबाट निःशुल्क हुने भएको हो ।

त्यस्तै, प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ । यो सेवा पनि भदौ १ गतेबाट लागू गर्न मन्त्रालयले निर्देशन गरेको छ ।

मन्त्रालयले सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा ईकाइ स्थापना गर्न निर्देशन गरेको छ । मन्त्रालयले ईकाइमार्फत् असहाय, अपाङ्ग, विपन्न, बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्ने निर्णय भएको हुँदा अनिवार्य रुपमा कार्यान्वयन गर्न उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नीजि स्वास्थय संस्थाहरुले १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने व्यवस्था रहेको बताउनुहुँदै नीजिमा पनि सामाजिम सेवा इकाई राख्न निर्देशन दिइएको छ । गरिब, विपन्न र अप्ठ्यारोमा परेका बिरामीलाई १० प्रतिशतबाट हुने निःशुल्क सेवा उपलब्ध गराउन निर्देशन दिइएको हो ।

मन्त्रालयका प्रवक्ता दिपक प्रसाद तिवारीका अनुसार १३ वटा अस्पतालका आठ सय ११ शय्या निःशुल्क हुने व्यवस्था गरिएको बताउनुभयो । मन्त्रालयका अनुसार हेटौँडा अस्पतालमा १७५ शय्या, त्रिशुली अस्पतालमा ९२ शय्या, धादिङ अस्पतालमा ७९ शय्या, भक्तपुर अस्पतालमा ७५ शय्या, चौतारा अस्पतालमा ३६ शय्या, मेथिनकोट अस्पतालमा ५१ शय्या, बकुलहर रत्ननगर अस्पतालमा ७६ शय्या, सिन्धुली अस्पतालमा ७७ शय्या, पशुपति चौलागाई अस्पतालमा ४५ शय्या, बज्रबाराही चापागाउँ अस्पतालमा २५ शय्या, रसुवा अस्पतालमा १९ शय्या, टोखा चण्डेश्वरी अस्पतालमा २५ शय्या र रामेछाप अस्पतालमा ३६ शय्या निःशुल्क गरिने मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रादेशिक अस्पतालमा १८ हजार सात सय बिरामी भर्ना भएर सेवा लिएकोमा एक लाख २४ हजार ३५० जनाले ओपिडि सेवा लिएका थिए । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार प्रादेशिक अस्पतालबाट सेवा लिने सात लाख ५५ हजार २४ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार भक्तपुर, हेटौँडा, बकुलहर, त्रिशुली, धादिङ अस्पतालबाट सेवा लिने बिरामीको सङ्ख्या धेरै रहेको छ ।

मन्त्रालयले मानव सेवा आश्रमलाई प्रदेशसरकारले स्वास्थ्य विमा, अपाङ्गता भएका ‘क’ र ‘ख’ श्रेणीका वर्गको बीमा वापतको रकम भुक्तानी, लोपोन्मुख र अतिसिमान्तकृत वर्गको बीमा र सडक दुर्घटना, वन्यजन्तुको आक्रमणमा परेकालाई सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here