आज कीर्तिपुरमा बाघभैरवको जात्रा

65

काठमाडौं ।  कीर्तिपुरका आराध्यदेव बाघभैरवको जन्म दिनको रुपमा  प्रत्येक वर्षको सिंह संक्रान्ती अर्थात आज भदौ १ गतेका दिन बाघभैरवको जात्रा गरिने चलन रहेकाे छ ।

जात्राका अवसरमा मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघभैरवको मूर्तिलाई स्नान गराई विधिपूर्वक पूजा गरेर बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखी  कीर्तिपुर डाँडा राती परिक्रमा गरि बाघभैरवको जात्रा गरिने चलन रहेको छ ।

नेपाल संवत २४३ कालिन शिवदेव द्रितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाइ केन्द्र बनाई पाश्चिममा शैव देवता रहने गरि शिवरत र पूर्वमा वौद्ध देवीताको मात्र बाहुल्य रहने गरि देवरत क्षेत्र व्यवस्थित रुपमा बसायिएको इतिहास पाइन्छ । वि. सं. २०१४ भदौ १ गतेदेखि खटजात्रा गर्ने  चलन सुरु भएको हाे ।

साेही जात्रामा परम्परागत दाफा भजन, लाखेनाच लगायत सांगितिक कार्यक्रम समेत अहिले भइरहेकाे छ । सोही जात्राको अवसरमा बाघभैरव मन्दिर १ सय ८ परिक्रमा गरेको खण्डमा मनले चाहेको पूरा हुने धार्मिक विश्वास रहेको छ ।

किंवदन्ती

किंवदन्ती अनुसार कीर्तिपुर पहिला घना जंगलको रुपमा रहेकाे थियाे  । अहिले मन्दिर  रहेकाे बाघभैरव मन्दिरकाे यो क्षेत्र उत्तरतर्फको बस्तीका गोठालाहरुको गाईबस्तु चराउने स्थल थियो ।
गाईबस्तु चराउन गएको समय एउटा गोठालाले माटो मुछेर बाघको मुर्ति बनाएर त्यसमा जिब्रो बनाउने भन्दै पात खोज्न गएको बेलामा त्यो माटोको बाघमा शक्ति उत्पन्न भई चरिरहेका सबै गाईवस्तु खाइदिएको थियो । त्यही बाघले नै आफ्ना गाईबस्तु खाईदिएको भन्दै गोठालाहरुले रिसले मूर्तिमा जिब्रो राखेनन् ।
त्यस पछि पनि मानिसहरुलाई समेत दुःख दिन थालेको त्यो बाघ बारे तान्त्रिकलाई सोध्दा बाघमा भैरव प्रवेश गरेकाले त्यस्तो भईरहेको र विधिपूर्वक भैरवको पूजाआजा गरेपछि बाघको उत्पात साम्य हुने उपाय बताए अनुसार तान्त्रिकको सुझाव अनुसार भैरवको पूजाआजा गर्दा यो समस्याको अन्त्य भएपछि त्यहि स्थानमै बाघ भैरवको मन्दिर पनि स्थापना गरियो । मुर्ती बनाउदा जिब्रो नराखेको कारण हाल सम्म पनि कीर्तिपुरको बाघभैरवको मूर्तिमा जिब्रो नरहेको जनविश्वास रहेको छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here