काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणको अनुसन्धानको टुंगो सीआईबीले नै लगाउने जनाएका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री श्रेष्ठले सुन प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लेगरिरहेको र उसले नै निष्कर्षमा पुर्याउने दावी गरे।
‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ,’उनले भने,’ सीआईबीले नै अन्तिम टुंगो लगाउँछ। यसमा कुनै कन्फ्युजन नहोस्।’ गृहमन्त्री श्रेष्ठले आजको बैठकमा संसदको गतिरोध अन्त्यबारे गम्भीर छलफल भएको बताए। उनले मंगलबारदेखि संसद खुल्ने विश्वास व्यक्त गरेका छन्।
तर प्रमुख प्रतिपक्ष नेकपा एमाले भने सुन प्रकरणमा आफ्नो अडानबाट पछि हटेको छैन। आजको बैठकमा सहमति नजुट्दा सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरेका छन्।
सुन प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा पटक पटक बस्दै आएका बैठक निष्कर्षविहीन बन्दै आएका छन्। साउन २ गते त्रिभुवन विमानस्थलबाट भन्सार चेकजाँच भइ बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ।
सुन प्रकरणमा सुरुमा राजश्व अनुसन्धान विभागले गरेपनि हाल सीआईबीले गरिरहेको छ। सो प्रकरणमा १८ बढि व्यक्ति पक्राउ परिसकेका छन्।

















