दाङ । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः ताला लागेको छ । नेपाली कांग्रेस सम्बद्ध नेविसंघले लगाएको ताला दुई महिनापछि खुलेको हप्ता दिन पनि नपुग्दै नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले ताला लगाएको हो ।
यसअघि नेविसंघसँग विश्वविद्यालयले सेवा आयोगले लिने परीक्षाहरु लोक सेवा आयोगलाई दिने सहमति गरेपछि ताला खुलेको थियो । तर अखिल क्रान्तिकारीले भने विश्वविद्यालयको सेवा आयोगको अधिकार लोक सेवा आयोगलाई दिन लागेकोप्रति आपत्ती जनाउँदै ताला लगाएको हो ।
बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा संस्कृत विश्वविद्यालयको कामकारबाही प्रभावित हुँदै आएको छ ।
यसअघि विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा तालाबन्दी हुँदा असार २१ गते हुने भनिएको उपप्राध्यापक र वरिष्ठ प्रशिक्षक र असार २७ देखि हुन थालेका सहप्राध्यापकका परीक्षाहरु स्थगित भएका थिए । सेवा आयोगमा लगाइएको ताला खुलेपछि आइतबार आयोगले कर्मचारी र प्रध्यापकका परीक्षाको सूचना प्रकाशित गरेको थियो । परीक्षाको सूचना प्रकाशित भएपछि अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
सेवा आयोगको निष्पक्षतामाथि प्रश्न उठेका बेला कुनै छानबिन नगरी परीक्षाको सूचना सार्वजनिक गरिएकोमा आपत्ति जनाउँदै अखिल क्रान्तिकारीले तत्काल कुनै काम नगर्न चेतावनी दिएका छन् । तालाबन्दीपछि विश्वविद्यालयका सबै कामहरु ठप्प भएको विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जनाए ।


















