बुटवल । लुम्बिनीका नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने घोषणा गरेका छन् ।
पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै उनीहरुले पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार भदौ १४ गते (जनै पूर्णिमाको दिन) गाईजात्रा पर्व नमनाउने स्पष्ट पारेको हो ।
आफ्नै सभ्यता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरी पञ्चाङ्ग पात्रोलाई आधार मानेर दुई दिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने, एकै दिन मान्नुपर्ने पर्वलाई दुई दिन पार्ने जस्ता कार्यहरु भइरहेको र यसले नेवार समुदायमा विभाजन ल्याउने समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले बताए ।
‘पञ्चाङ्ग पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन परेको छ तर नेवार समुदायले परम्परादेखि जनै पूर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन हो’– नेवाः देय् दबू लुम्बिनीका प्रथम सचिव चिरञ्जीवी श्रेष्ठले भने–‘नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपराह्नबाट सुरु हुने पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाटी पुन्ही (जनैपूर्णिमा) र भदौ १५ गते गाईजात्रा पर्व परेको छ ।’
नेवार समुदायमा मृत्यु भएको घरबाट मृत आत्माको चिरशान्तिको कामना गर्दै जनै पूर्णिमाको अर्को दिन गाईजात्रा (सापारु) निकाल्ने प्रचलन रहेको छ ।
नेवाः देय् दबू लुम्बिनीले नेपालको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा मान्यता दिँदै नेवार पात्रोका आधारमा नेवाः समुदायको पर्व निर्धारण तथा सार्वजनिक विदाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।


















