गाउँ फर्किएर व्यावसायिक कृषिमा नेपाल

47

टक्सार (भोजपुर)। बसाइँसराइँ गरिसकेको अवस्थामा फेरि जिल्लामाकै कृषि कर्मका लागि फर्किएका शम्भुप्रसाद नेपाल अहिले व्यवसायिक रुपमा सफल किसानका रुपमा परिचित भएका छन् ।

विसं २०४७ सालमा यहाँबाट विराटनगर बसाइँसराइँ गरेका नेपालले गाउँमै केही गर्ने सोच बनाएर २०७० सालमा पुनः भोजपुर नै फर्किएका थिए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका नेपाल अहिले आफू कृषि कर्ममा तल्लीन छन् । दानाबोटे फलफुल तथा कृषि फर्म दर्ता गराएर नेपालले अहिले कागती, ड्रागन फ्रुटको खेती गर्दै आएका छन् । ती खेतीबाट उनले वार्षिक लाखौंँ रुपैयाँ आम्दानी पनि गरिरहेको बताए ।

कागतीको बजार पनि राम्रो हुने भएकाले आफू कागती खेतीको बिस्तारमा लागेको उनको भनाइ छ । उनले लगाएको एक बोट कागतीको बोटमा एक हजार गोटासम्म कागती उत्पादन फल्ने गरेको छ । कागतीसहित किसान नेपालले ड्रागन फ्रुटको खेतीसमेत गर्दे आएका छन् । उनले गरेको ड्रागन खेती देखेर अहिले भोजपुरमा यसतर्फ किसानको आर्कषणसमेत बढदै गएको छ ।

धान फलिरहेको खेतीयोग्य जमिन मासेर आफूले कागतीखेती थालेको किसान नेपालको भनाइ छ । करिब ४३ रोपनी जग्गामा किसान नेपालले अहिले कृषि कर्म गर्र्दै आइरहेका छन् । करिब एक हजार बोट कागतीको फल समेत दिन थालिसकेका उनले बताए ।

“बजारमा कागतीको माग राम्रो छ यसका लागि भोजपुरको हावापानी पनि राम्रो छ, कागतीको बिरुवाको समेत माग हुँदै आएकाले अबको दिनमा कागतीको बिरुवासमेत उत्पादन गर्ने मेरो योजना छ”, उनले भने । कागतीसँगै करिब ड्रागन फलको बिक्रीबाट समेत राम्रो आम्दानी लिँदै आएका छन् । किसान नेपालले वार्षिक  १५ लाख भन्दाबढी आम्दानी गर्दै आएको जानकारी दिए ।

बसाइँसराइपछि गाउँमा फर्किएर व्यवसाय सुरु गर्दा धैरेले विश्वास नगरेको भए पनि उनको प्रेरणाले अन्य किसानमा पनि ड्रागन खेतीप्रति उत्साह बढेको जिल्लाको रामप्रसाद राई गाउँपालिकाका घमचन्द्र दाहालले बताए ।

दाहालले भने, “यस्ता किसानलाई प्रोत्साहन गर्न सकिएमा नयाँ किसानलाई पनि हौसला मिल्छ, यसका लागि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले पनि विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।”

लगाएको बालीसमेत बाँदरका कारण भित्र्याउन समस्या भइरहेको अवस्थामा अहिले किसानले त्यसको विकल्पका रुपमा टिमुर, कागती, ड्रागन जस्ता बाली लगाउन सुरु गरेका छन् । खेतीयोग्य जग्गामा बाँदरले दुःख नदिने प्रजातिका फलफूल खेती गरेर मनग्गे आम्दानी पनि लिने अवस्था बनेको उनको भनाइ छ ।

कागती र ड्रागन खेतीसँगै दूध सङ्कलन केन्द्रको विस्तार गर्ने अभियानमा पनि आफू लागेको किसान नेपालले बताए । जिल्लाका विभिन्न ठाउँमा दूध सङ्कलन केन्द्र स्थापना गरी बजारमा दूध आपूर्ति गर्ने उनको योजना छ ।

“यहाँका किसानले उत्पादन गर्ने दूधलाई सहर पठाउने सोच राखेको छु, यसका लागि टेम्केमैयुम गाउँपालिका ,भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा सङ्कलन केन्द्र राखेर यसबाट दैनिक सङ्कलन भएको दूध सहर पठाउने योजना बनाएको छु”, नेपालले भने । गाउँमा खेर गइरहेको दूध बजारमा जाँदा मासिक  २० लाख बढी जिल्लामा भित्रिने अनुमान उनको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here