बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ६८ ग्रामसहित सोही उपमहानगरपालिका-२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले स्कुटर चालक थिङलाई ना.३३ प ५७४८ नम्बरको स्कुटरमा बोरामा राखी उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलीयास्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ केजी ३ सय ग्रामसहित सोही नगरपालिका-१० बस्ने ४८ वर्षीय नर बहादुर घिमिरे समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ मोरङ, १९ भदौ विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ-आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















