पाठेघरमा हुने क्यान्सरविरुद्धको खोप शुभारम्भ

87

काठमाडौं ।सरकारले १४ वर्षका किशाेरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बुधबार पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरिएकाे हो ।

बुधबार अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोपको डेमोस्ट्रेसन सुरु गरेका हुन् । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशाेरीहरूलाई याे खाेप दिन लागेकाे हाे ।

धुम्बाराहीकी १४ वर्षीया किशोरी आइरिस मानन्धरलाई पहिलो एचपीभी खोप लगाइएको थियो । शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले खाेपका लागि देशका ७ वटा अस्पताल छानेको र वाग्मती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुभारम्भ गरिएको बताए । उनले भने‚ ‘सबै किशोरीका लागि पुग्ने गरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्षभित्र सबैका लागि एचपीभी खोप आइसक्नेछ ।’

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने भन्दै किशाेरीहरूलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

सरकारले दुई महिना २० हजार भाइल एचपीभी खोप खरिद गरेर ल्याएकाे थियाे । प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरू डडेल्धुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि शुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी गराएकाे छ ।

यो खोप विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको खोप हो । खाेप लगाउन जानका लागि जन्ममिति खुल्ने कागजात आवश्यकता पर्दछ । याे खाेप ६ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here