सङ्खुवासभा । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।
कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका–१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरक्षिक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका–११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका–१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका–८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, खोटाङको जन्तेढुङ्गा गाउँपालिका–३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालले जनाएकको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।
गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो । रासस