मनहरी । बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले प्रदेश सरकारद्वारा रू चार करोड लागतमा विद्युतीय सवारी उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जानकारी दिएका छन् ।
विद्युतीय सवारी साधन चार्ज गर्न सहज होस् भन्ने उद्देश्यले चार्जिङ उपकरण खरिद र स्टेशन निर्माण गर्ने कार्यविधि बनाउन लागिएको जनाउँदै उनले यसको उचित व्यवस्थापनले विद्युतीय सवारी सञ्चालनमा सहज हुने बताए ।
विद्युतीय सवारी वातावरण मैत्री र कम खर्चिलो हुने भएकाले स्टेशन निर्माणलाई तीव्रता दिन लागिपरेको मन्त्री लम्सालको भनाइ थियो ।
‘डिजेलका गाडीले जस्तो वायु तथा ध्वनि प्रदूषण विद्युतीय गाडीले फैलाउँदैनन्’, उनले भने, ‘त्यसैले काठमाडौँ जस्तो प्रदूषित सहरका लागि विद्युतीय सवारीसाधन निकै फाइदाजनक हुने देखिन्छ ।’


















