मकवानपुर । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसके वर्तमान राजनीतिक व्यवस्थाको औचित्य नरहने जनाएका छन् । नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको खण्डमा लामो संघर्ष पछि प्राप्त भएको राजनीतिक व्यवस्था परिवर्तनको औचित्य नहुने उनको भनाइ छ ।
‘जनताले अपेक्षा गरे अनुसारको काम सरकारले गर्न नसके वर्तमान व्यवस्था परिवर्तनको औचित्य रहँदैन । जनताले सरकारको अनुभूति गर्न पाए मात्र व्यवस्था प्रतिको औचित्य रहन्छ ।’ उनले भने, ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई तुहाउन खोजिँदै छ । सुशासन अभियानविरुद्ध सङ्गठित शक्ति आक्रामक ढङ्गले प्रहार भइरहेका छन् । तर, पनि सरकार सुशासनको अभियानमा निरन्तर चलिरहन्छ । भ्रष्टाचार र तस्करी नियन्त्रणको प्रयास निरन्तर रूपमा चलिरहन्छ । यो अभियानमा पूर्ण विराम लाग्नेवालामा छैन ।’
उनले सरकारले सुशासन अभियानअन्तर्गत ललिता निवास, मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करीसम्बन्धी भ्रष्टाचारका विभिन्न घटनाको छानबिन गरिरहेको बताए ।


















