माथिल्लो मनाङमा हिमपात कृषक खुशी

23

मनाङ । सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनानी सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।

तराई तथा पहाडमा सोमबार परेको वर्षा अनि हावाहुरी असिनाले पाकेको बालीनाली नष्ट गरिदिँदा किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ । तर हिमालपारिको जिल्ला मनाङमा भने यस वर्षको सुरुआती हिमपातले किसानलाई दसैँसँगै खुसी थपेको छ ।

‘हिमालको खेती बाह्र वर्षमा १ पटक’ मात्रै राम्रो हुने मान्यता अहिले पनि छँदै छ । थोरै मात्र पानी भए पुग्ने र हिमपातले चिस्यानलाई बचाइराख्ने हुनाले यहाँका किसानहरु हिमपातका कारण बालीनाली सप्रने भयो भन्दै खुसी भएका हुन् ।

‘‘गतवर्ष यो समयमा हिमपात भएको थिएन, यस वर्ष माथिल्लो क्षेत्रमा हिमपात भएको छ,’’ ङिस्याङ गाउँपालिका–९ का वडा अध्यक्ष चोल्पा गुरुङले भने । विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको उनको भनाइ छ ।

तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा मजासँग हिमपात भएको पर्यटक गाइड प्रदीपजंग कार्कीले जानकारी दिए । कार्कीले आफूसँगै थोराङ्ला गएका पर्यटक खुसी भएको बताए । दसैँ, पर्यटक र हिमपातले यात्रामा रोमाञ्चकता थपेको कार्कीको भनाइ छ ।

‘‘हिमपात नहुँदा पानीको अभावले उत्पादक कम हुन्छ, यसपालि बेलैमा हिमपात भएको छ, यसले बालीनाली सप्रन्छ, हामी त खुसी छौं,’’ ङिस्याङका अगुवा चौंरीपालक कृषक याङदुङ गुरुङले भने, ‘‘हिउँकै भरमा खेतीपाती हुने भएकाले अहिले सुरुआत भएको छ, यसले किसानलाई फाइदा हुन्छ ।’’ हिमपात भएपछि याक, चौंरीका लागि पनि हुने र घाँस पनि राम्रोसँग पलाउने गुरुङ आशावादी छन् ।
यसरी नै हिमपात हुँदै गयो भने मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौंरी बेँसी झार्ने बेला आउनेमा गुरुङले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here