काठमाडौं । नेपाल राष्ट्र बैंकमा बुधवार आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।
पाण्डे बैंकको १७औँ साधारण सभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि पाण्डेले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष काम गरिसकेका छन् । इन्जीनियरिङ्ग सङ्कायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी सिमेन्ट तथा औषधी उत्पादनजन्य उत्पादनमूलक उद्योग तथा व्यापार व्यवसायमा सक्रिय रूपमा संलग्न छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा आबद्ध भई नेतृत्वदायी भूमिका निभाइरहेका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।


















