जहानिया राणा शासनको अन्त्यसँगै प्रजातान्त्रिक व्यवस्थामा नेपालमा राजनीतिक दलको उदगमले एउटा महत्वपूर्ण अवसर पायो । विं सं.२००७ मा प्रजातन्त्रको स्थापना भएसँगै खुल्ला राजनीतिको वातावरण सिर्जना भयो । त्यस अवधिमा विभिन्न मिसनसहित राजनीतिक दलहरूको गठन सुरु भएको हो । यसलाई प्रगतिशील परिवर्तन मान्नु पर्दछ । विं सं. २०१७ मा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गर्दै निर्दलीय प्रजातन्त्रको स्थापना गरेपछि करिब ३० वर्षको अवधिमा खुल्ला राजनीतिक वातावरणको अवस्था रहेन । तर पनि मिसनसहित स्थापना भएका राजनीतिक दलहरूले भूमिगत रूपमै भएपनि आ–आफ्ना मिसन केन्द्रीत गतिविधिलाई निरन्तरता दिँदै आए । राजनीतिक दललाई प्रतिबन्ध गरिएको अवस्थामा पनि राजनीतिक गतिविधि सञ्चालन गरेकै कारण वि पि कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मले लामो समय जेल नेल र भूमिगत जीवन व्यहोर्नु प¥यो ।
भूमिगत शैलीमै भएपनि आफ्ना मिसनमा दलहरू लागिरहेकाले २०४६ सालको जनआन्दोलन र प्रजातन्त्रको पुनस्थापना सम्भव भएको हो । मिसनमा केन्द्रीत राजनीति २०६२/०६३ को जनआन्दोलनसम्म पनि महसुस गर्न सक्ने अवस्थामै देखिन्थ्यो । २०५२ सालबाट सशस्त्र युद्ध सुरु गरेको तत्कालीन नेकपा माओवादीले पनि मिसनको राजनीति सुरु गरेको थियो । मिसनकै राजनीति गरेकै कारण प्रजातन्त्रको स्थापना, पञ्चायतको अन्त्य, प्रजातन्त्रको पुनस्थापना, सशस्त्र युद्ध, राजतन्त्रको अन्त्य र ०६२/०६३ को जनआन्दोलनसँगै मुलुक शान्ति प्रक्रियामा पनि अघि बढ्न सफल भएको हो । मुलुकप्रतिको मिसनलाई वेवास्ता गर्दा तत्कालीन राजाले २४० वर्ष पुरानो आफ्नो सत्तालाई गुमाउनु परेको होे । पछिल्लो समय राजनीतिक दलहरूमा पनि मिसन राजनीतिको अभाव देखिन थालेको छ । राजनीतिक मिसन भन्दा पनि व्यक्तिका आकांक्षा र चाहनाले प्राथमिकता पाउँदा ठूला भनिएका राजनीतिक दलहरूमा समेत व्यक्ति र परिवारवाद हावी हुन थालेको छ । यसको परिणाम मुलकको शासन व्यवस्थामा प्रष्ट देखिन थालेको छ ।
प्रजातन्त्र र समाजवाद सहितको राजनीतिक उद्देश्य बोकेको नेपाली कांग्रेसले इतिहासदेखि वर्तमान अवस्थासम्म पटक–पटक गरेका गल्ती र राजनीतिक उद्देश्यबाट धर्मराउँदा मुलुकले निकै ठूलो क्षति ब्योहोर्दै आएको छ । जनताको अधिकारका लागि लड्छौँ भन्ने हालका सत्तारुढ कम्युनिस्टहरू समेत आफ्नो मिसनबाट धर्मराउँदा मुलुकले एक वर्षको अवधिमा धेरै ठूलो क्षति व्योहोर्दै आएको छ । एकातर्फ जनतासँग गरेको प्रतिवद्धताप्रति इमान्दार नहुने र अर्काेतर्फ राष्ट्रियता र राष्ट्रिय हित जस्ता महत्वपूर्ण विषयमा कम्युनिस्ट आवरणको सरकारको ध्यान नजाँदा जनताबाट निकै ठूलो अपेक्षा गरेको वर्तमान सरकारप्रति निराशा र आक्रोश बढ्दै गइरहेको छ । जनताको तहमा देखिएको निराशा र आक्रोशले के संकेत गर्छ भने वर्तमान सरकार राष्ट्रियता र राष्ट्रिय हितका विषयमा पनि निकै कमजोर हुँदै गइरहेको छ ।
एकातर्फ सत्तापक्षमा मुलुक र जनताप्रतिको जिम्मेवारीबोध नहुने र प्रतिपक्ष पनि राजनीतिक मिसन भन्दा व्यक्तिवादी चरित्रबाट निर्देशित हुँदै निरिह हुने अवस्थाले मुलुक असपफलतातर्फ जाने सम्भावना बलियो हुँदै गएको छ । राजनीतिक दलहरूमा पार्टी स्थापनाको उद्देश्य र मुलुकप्रतिको जिम्मेवारीबोध नहुँदा र राजनीतिक मिसनबाट व्यक्तिवादी सोँचतर्फ अघि बढ्दा यस्तो समस्या देखिएको हो । राजनीतिक दलहरूमा लामो समयसम्म पनि राजनीतिक मिसन र उद्देश्यप्रतिको जिम्मेवारीबोध नहुने अवस्था सिर्जना हुँदै जाने हो भने यसले निकै नै भयावाह स्थिति सिर्जना हुने निश्चित छ । यसले जनतामा त निराशा छाउँछ नै मुलुक समेत असफलताको बाटोमा अघी बढ्ने संकेत भइरहेको छ । तर यस्तो गम्भिर विषयमा राजनीतिक दल र तीनका नेताहरूमा कुनै किसिमको जिम्मेवारीबोध नभएको देखिदा मुलुकको भविष्य थप अन्धकार बनिरहेको देखिन्छ ।- जनधारणा साप्ताहिक


















