दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने

46
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिकको स्वास्थ्यलाई असर पर्न नदिने हेतुले विकिरण मापन गर्ने तयारी गरिएको हो ।

विभिन्न शहरी तथा ग्रामीण क्षेत्रका मोबाइल टावरको उपकरणको रेडियो फ्रिक्वेन्सीले उत्सर्जन गरेका विद्युतीय विकिरण नापेर त्यसको मात्रा नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्ड अनुरुप रहे/नरहेको बारे प्रतिवेदन लिने योजना छ ।

ईएमआर मापदण्ड मापन तथा प्रमाणीकरण गरेर समस्या देखिएका टावरमा सुधारको लागि निर्देशन दिइने प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताए । प्राधिकरणले जारी गरेको ‘मोबाइल टावरका रेडियो फ्रिक्वेन्सीबाट सिर्जना हुने विकिरणबाट जनसाधारण तथा पेशागत सुरक्षा सम्बन्धी विनियमावली’ कार्यान्वयनको अवस्थामाथि अध्ययन तथा विश्लेषण गर्न यस्तो मापन गरिने उनले जनाए ।

अस्पताल, विद्यालय नजिक क्षेत्रका टावरहरूमा मापन गरेर मापदण्डभन्दा बढी विकिरण उत्सर्जन हुन बाटो रोक्ने प्राधिकरणको योजना छ । यसरी परीक्षण गर्दा सबै अपरेटरका टावरहरू समेटिने उनले जनाए ।

परीक्षणमा ९०० देखि १८००, २१००, २३०० र २५०० मेगाहर्ज ब्यान्ड समावेश हुनेछन् । परीक्षणले टावरबाट सिर्जित विकिरणले सर्वसाधारणलाई पार्ने जोखिम नियन्त्रण र विनियमावली लागू गर्न चाल्नुपर्ने कदमबारे थाहा हुने प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं, पोखरा, दाङ सहित विभिन्न क्षेत्रमा यसअघि गरेको परीक्षणमा केही टावरमा समस्या देखिएको थियो, हामीले आवश्यक सुधार गर्न पनि लगाएका थियौं’ उनले भने, ‘टावरहरूले मानव स्वास्थ्य र वातावरणमा सामान्यतया हानि–नोक्सानी गर्दैनन्, तर विकिरणको मात्रा भने मापदण्ड अनुसार होस् भनेर हामीले यो वर्ष पनि मापनको कार्यक्रम राखेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here