यस्तो छ टिकामा दिने छुट्टा छुट्टै आर्शिवादको अर्थ

92

काठमाडौं । नेपालीहरूको महान् चाड दशैंमा नौ दिनसम्म पूजा अर्चना गरेको जमरा, दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टिकामा नै विजयादशमीको महत्त्व छ ।

परिवारका सबै सदस्य एकै ठाउँमा बसेर, घरमा नवदुर्गा भवानीको पूजा गरेर, उमेर क्रमानुसार ठूला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ । उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनीबाट टिका थप्ने या दाजुभाइकोमा जाने गर्दछन् ।

फूलपाती भित्राएर, महाअष्टमी र महानवमी पनि पुजा गरेर, घरमा माछा मासुका विभिन्न मिठा परिकारहरू बनाएर, सबै परिवाको साथ हर्ष–उल्लासको साथ दसैँ मनाउने गरिन्छ । नेपालका सुगम सहरदेखि दुर्गमका अनकन्टार वस्तिसमेत आज बिहानैदेखि एउटा फरक रौनकमा सजिएर व्यस्त बनेको छ ।

केटाकेटीहरू नयाँ लुगा लगाएर यताउता कुदिरहेका छन् ! के बुढा, के वृद्ध अनि के तन्नेरी, सबैलाई दसैँको ऊर्जायुक्त रङ्गले छोएको छ । अरू बेलाको टिका र आर्शिवाद भन्दा विजयादशमीको टिका र आर्शिवाद महत्त्वपूर्ण हुने विश्वास रहेको छ । यो दिन आफू भन्दा ठुलाको हातबाट टिका र जमरा लगाई आर्शिवाद थाप्ने गरिन्छ ।

तर, यो दिन पुरुषलाई र महिलालाई लिङ्गको आधारमा फरक फरक आर्शिवाद दिने चलन रहेको छ । त्यो पृथकता हामी टिका लगाइदिँदा उच्चारण गर्ने मन्त्रमा देख्न सक्छौँ । जस्तो की पुरुषलाई टिका लगाइदिँदा लिने आर्शिवाद

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र कर्ण झै दानी होस्, भीमको जस्तो वलक होस्, युधिष्ठिर जस्तो सत्यवान् होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

यस्तो आर्शिवाद प्रदान गर्ने परम्परा रहेको छ । तर, महिलालाई टिका लगाइदिँदा दिने आर्शिवाद भने यस प्रकारको छ :

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात् ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुःखको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।

यो पावन पर्व हिन्दु धर्ममा मात्र सीमित नभएर एउटा सनातनी पर्व हो । यसलाई बौद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छ कि हिन्दूहरू रातो टिका लगाएर नव दुर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बौद्ध अनुयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

आजको दिन बाटोघाटोमा टिका अनि जमरा लगाएर सपरिवार हिँडेका दृश्यले पनि हामी नेपाली पारिवारिक सौहार्द्यता र सामीप्यमा कति विश्वास राख्छौँ भन्ने कुरालाई प्रस्ट पार्दछ । आजैको दिन दुर्गा भवानीले महिषासुर नामक असुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ ।

यी टिका, जमरा अनि रमाइलोको माहौल दैत्यहरूमाथि देवताहरूको विजय, असत्यमाथि सत्यको विजय अनि अमानवीय तत्त्वमाथि मानवताको विजयका रुपमा लिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here