शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक

32

काठमाडौं । एप्पलले अहिलेसम्मकै शक्तिशाली चिपसेट ‘एम थ्री’ भएको पहिलो म्याकबुक प्रोको लाइनअप सार्वजनिक भएको छ । नेपाली समय अनुसार मंगलवार बिहान भएको एप्पल इभेन्टमा कम्पनीले एम थ्री, एम थ्री प्रो र एम थ्री म्याक्स चिपसेट समावेश भएको म्याकबुक प्रो लाइअप सार्वजनिक गरेको हो ।

यसअन्तर्गत कम्पनीले टच बार कीबोर्ड नभएको १४ इन्च म्याज बुक प्रो ल्याएको छ । यो मोडेलमा एम थ्री चिप समावेश गरिएको छ ।

कम्पनीले नयाँ चिपसेटका साथ आएका म्याकबुकको भित्री पर्फर्मेन्स मात्र नभएर बाहिरको भाग पनि स्तरीय बनाएको उल्लेख गरेको छ । विशेषगरी यी सम्पूर्ण म्याकबुकमा कम्पनीले स्पेस ब्ल्याक कलर अप्सन समावेश गरेको छ । नयाँ चिपसेटसँगै यी ल्यापटको ब्याट्री लाइफ पनि धेरै सुधारिएको छ ।

एप्पलका अनुसार एम थ्री प्रो सिलिकन भएको १६ इन्चको म्याकबुक प्रोको ब्याट्री एक पटकको चार्जमा १२ घण्टासम्म टिक्छ । १४ इन्च भेरियन्टको म्याकबुकमा भने कम्पनीले एम थ्री म्याक्स चिपसेट समावेश गरेको छ । जसको ब्याट्री १६ इन्चको म्याकबुकको तुलनामा कम टिकाउ हुनेछ ।

नयाँ मोडेलका म्याकबुकमा तीन ओटा थन्डरबोल्ट १४ पोर्ट, एउटा एचडीएमआई पोर्ट, एसडी कार्ड रिडर र चार्जिङका लागि म्याकसेफ कनेक्टर समावेश छन् । यी मोडेलको ब्राइटनेस ६०० निट्स रहेको छ, जुन पहिलेका मोडेलको तुलनामा २० प्रतिशतले बढी हो ।

१४ इन्चको म्याकबुक प्रोको सुरुवाती मूल्य १५९९ डलर (करिब दुई लाख १२ हजार रुपैयाँ) तोकिएको छ । १४ इन्चको म्याकबुकको बेस मोडेलमा १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज रहेको छ । यदि स्टोरेज १ टीबीसम्मको लिनुपर्‍यो भने २०० डलर थप तिर्नुपर्ने हुन्छ ।

त्यस्तै १८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको १४ इन्च म्याकबुक प्रोको सुरुवाती मूल्य १९९९ डलर (करिब दुई लाख ६५ हजार रुपैयाँ) तोकिएको छ । त्योभन्दा महँगो म्याकबुक प्रो खरिद गर्ने प्रयोगकर्ताले १ टीबी स्टोरेज र ९६ वाट यूएसबी-सी एडप्टर पाउनेछन् । यसका लागि प्रयोगकर्ताले २३९९ डलर (करिब तीन लाख १८ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी ३१९९ डलर (करिब चार लाख २५ हजार रुपैयाँ) मा यही मोडेल ३६ जीबी र्‍याम भेरियन्ट र १ टीबी स्टोरेजको म्याकबुक प्रो खरिद गर्न सकिनेछ ।

त्यस्तै एम थ्री प्रो चिपसेट भएको १६ इन्चको म्याकबुक प्रोको सुरुवाती मूल्य २४९९ डलर (करिब तीन लाख ३२ हजार रुपैयाँ) तोकिएको छ । यो शुल्कमा प्रयोगकर्ताले १८ जीबी र्‍याम तथा ५१२ जीबी स्टोरेजको म्याकबुक प्रो र १४० वाट यूएसबी-सी एडप्टर पाउनेछन् । त्यस्तै यसैको ३६ जीबी र्‍याम भेरियन्टको मूल्य २८९९ डलर (करिब तीन लाख ८५ हजार रुपैयाँ) पर्नेछ ।

एम थ्री म्याक्स चिपसेटका लागि दुई ओटा विकल्प राखिएको छ । एउटा ३६ जीबी र्‍याम भेरियन्टको १६ इन्च म्याकबुक प्रो र अर्को ४८ जीबी र्‍याम भेरियन्टको १६ इन्च म्याकबुक प्रो । यी भेरियन्टको मूल्य क्रमशः ३४९९ डलर (करिब चार लाख ६५ हजार रुपैयाँ) र ३९९९ डलर (करिब ५ लाख ३१ हजार रुपैयाँ) तोकिएको छ ।

यी सबै भेरियन्टका म्याकबुक प्रो ७ नोभेम्बरदेखि एप्पलको वेबसाइटबाट खरिद गर्न सकिनेछ । आजदेखि नै सबै भेरियन्टको प्रि-अर्डर खुलाइएको कम्पनीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here