समानुपातिक निर्वाचन प्रणालीबाट पहुँचवालाहरु सांसद निर्वाचित

55

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरु सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताए। उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए।

उनले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरुका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरु सांसद बन्ने गरेको उल्लेख गरे।

उनले शक्ति र सम्पत्ति भएकाहरु समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए।

उनले भने, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन। विपनाको कुरा छाडिदिउँ। यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन्। आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन। समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो।

समानुपातिक राखेको त दलितहरु, विपन्न समुदायहरु, जनजातिहरु, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ। तर समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्यहरु, पहुँचवालाहरु आएपछि समानुपातिकको औचित्य के? यसमा गम्भीर रुपले विचार गर्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here