काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो ।
आव २०७८-७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ ।
ग्यास बिव्रmेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ ।
मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


















