काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजारको गिरावटले निरन्तरता पायो । १०. ८६ अंकले घटेर नेप्से १८४७ विन्दुमा अडियो । दशैंपछि मात्रै बजार ५६ अंक घटिसकेको छ । दशैंअघि १९०३ अंकमा सेयर बजार अडिएको थियो ।
बिहीबार होटल तथा पर्यटन उपसमूह भने ४ अंक बढ्यो । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल लगायत कम्पनीको मूल्य बढेकाले यो उपसमूह बढ्न टेवा पुग्यो । चन्द्रागिरि हिल्सको सबैभन्दा धेरै ६ प्रतिशत मूल्य बढ्यो । सोल्टीको ४.७७, तारागाउँको ४.१७, ओरियन्टल होटलको ३.८१ र सिटीको २.५ प्रतिशत मूल्य बढ्यो ।
होटलबाहेक म्युचुअल फण्ड सामान्य ०.०७ अंक हरियो रह्यो । अरु सबै उपसमूह घटे । बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १७, जलविद्युत् २१, जीवन बीमा ३७, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा ९०, अन्य ९ र ब्यापार उपसमूह ८१ अंक घटे ।
धेरै कारोबार हुने कम्पनीहरुमा आशा लघुवित्त संस्थापक, प्राइम कमर्सियल बैंक संस्थापक, सोना सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट क्रमशः अगाडि रहे ।

















