तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु

47

दाङ । दाङको तुलसीपुरमा दुईदिने प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता शुरु भएको छ। लुम्बिनी प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रदेशमा प्रतियोगिता शुरु भएको हो।

प्रदेशका ८ जिल्लाका र कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि आमन्त्रित सदस्यको रुपमा सहभागी गराइएको संघका अध्यक्ष विमल रिजालले बताए। उनका अनुसार प्रतियोगितामा विद्यालय तथा क्लबमार्फत खेलिरहेका २१ वर्षमुनिका करिब  साढे ८ सय खेलाडी सहभागी छन्।

उनले अबका दिनमा प्रत्येक वर्ष यस्तो खेलको आयोजना गर्ने समेत बताए। उनका अनुसार गेरुकी र पुन्से गरी दुई विधामा खेल हुनेछ।

प्रतियोगिता स्वास्थ्य र शिक्षालाई सँगै अगाडि बढाउन खेलकुद पनि एउटा हिस्सा भएको हुँदा आफूहरूले आयोजना गरेको समेत उनको भनाइ छ। खेलको स्तरवृद्धि गर्दै खेलाडीहरूलाई उत्साहित गर्ने समेत रहेको उनले बताए।

उनका अनुसार खेल शनिबारसम्म सञ्चालन हुनेछ। उनले प्रतियोगितामा धेरै खेलाडी आउँदा व्यवस्थापन गर्न समस्या भएको बताए।

अब तेक्वान्दोले प्रदेश चिनाउँछ : मुख्यमन्त्री चौधरी

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले क्रिकेटले नेपाल र नेपालीलाई विश्वसामु चिनाएको बताए। उनले तेक्वान्दो खेलले पनि विश्वमा नेपालीलाई चिनाएको र अब यस प्रदेशलाई पनि चिनाउने बताए ।

उनले दाङलाई  तेक्वान्दो हबमा विकास गर्न प्रदेश सरकार लागि परेको समेत बताए। तुलसीपुरका संघको कार्यालय भवन निर्माण भएको र काठमाडौँपछि सुविधासम्पन्न भवन बनेको समेत उनले बताए।

प्रदेशको सबै कुरा एकै ठाउँमा मात्र हुनुपर्छ भन्ने मान्यतामा आफू नरहेको भन्दै उनले दाङलाई तेक्वान्दो हब र अन्य जिल्लालाई अरुको हबको रुपमा विकास गरिने समेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here