काठमाडाैं । आइभरी कोस्ट तथा चेल्सीका पूर्व चर्चित फुटबल स्टार डिडियोर ड्रोग्बा नेपाल आउने भएका छन्।
उनले एक भिडियो सन्देश जारी गर्दै भूकम्पबाट प्रभावित परिवारप्रति आफ्नो ऐक्यबद्धता प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।
ड्रोग्बा नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल आउन लागेको उनले भिडियो सन्देशमार्फत जानकारी दिँदै आफ्नो फाउन्डेसनमार्फत २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणासमेत ड्रोग्बाले गरेका छन्।
डिडियर ड्रोग्बा फाउन्डेसन र नेपाल सुपर लिगको सहकार्यमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको एनएसएलले जनाएको छ।
‘भूकम्प प्रभावित क्षेत्रको सहयोगको लागि म ऐक्यबद्धता जनाउँछु। भूकम्पबाट ज्यान गुमाएका र घाइते भएकाहरु प्रति मेरो सहानुभूति छ। म एनएसएलसँगको सहकार्यमा नेपाल आउने छु। यो विपदको समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ,’ उनले दिएको भिडियो सन्देशमा उल्लेख छ।

















