एआइजी श्यामलाल ज्ञवालीको जन्ममिति विवाद

59

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति विवाद प्रकरणमा संसदीय समितिले छानबिन थालेको छ।

सोही क्रममा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयसँग एआईजी‍ ज्ञवालीको जन्म मितिसम्बन्धी कागजात मागेको हो।

ज्ञावालीको जन्ममितिका सम्बन्धमा केही उजुरी परेका कारण जन्म मितिसम्बन्धी कागजात माग गरी अनुसन्धान कार्यलाई तीब्रता दिएको समितिका सचिव सुरजकुमार दुराले जनाएका छन्।

उजुरीकर्ताले ज्ञवालीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रमा जन्ममिति सच्याएर सेवा प्रवेश गरेको दाबी गर्दै उजुरी दिएका हुन्।

ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी दिएका शेरबहादुर चन्दले कात्तिक १४ गते राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको समिति स्रोतले जानकारी दियो। ज्ञवालीले उमेर ढाँटेर सरकारी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्म काम गरेको आरोप छ।

चन्दले ज्ञवालीमाथि २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि मागिएको आवेदनमा २५ वर्ष पूरा भइसकेको अवस्थामा नियुक्ति लिइएको आरोप छ।

आवेदनअनुसार २०५० साल वैशाख १ गते २० वर्ष उमेर पुगेर २५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने भएपनि नागरिकताका अनुसार ज्ञवालीको उमेर २५ वर्ष नाघिसकेको उजुरीमा उल्लेख छ।

प्युठान जिल्ला प्रशासन कार्यालयबाट २०४१ साल चैत २१ नागरिकता लिएका ज्ञवालीको उमेर १७ वर्ष उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रहरूमा भने जन्ममिति २०२५ साल भदौ २६ गते उल्लेख भएका छन्।

आउँदो चैतमा अवकाश पाउने ज्ञवालीको जन्ममिति विवादमा अख्तियारले गरेको निर्णय नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको आरोप लाग्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here