जाजरकोट। जाजरकोट भेरी नगरपालिका-१ रिम्नामा मोबाइल टावर सञ्चालनको तयारी थालिएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयका प्रबन्ध निर्देशक सङ्गीता पहाडीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनलगत्तै टावर सञ्चालनको तयारी थालिएको हो ।
टावर सञ्चालनमा आउने भएपछि उक्त ठाउँमा निःशुल्क सिमसमेत वितरण हुन लागेको नेपाल टेलिकमले जनाएको छ । सदरमुकामअन्तर्गत पर्ने भए पनि फोन नबुझिने समस्या स्थानीयलाई सास्ती भएको थियो ।
भूकम्पबाट बढी प्रभावित भएका जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लामा टेलिकमले नमुना सेवा दिने लक्ष्यसहित स्थलगत अनुगमन गरिएको पहाडीले बताए । भूकम्प प्रभावित क्षेत्रमा रहेका टावरको अवस्था र क्षमताको जाँच गरिएको उनको भनाइ थियो ।
सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माको निर्देशन तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको आग्रहमा टेलिकमको उच्चस्तरीय टोली गाउँगाउँमा पुगेको थियो ।
आवश्यक स्थानमा थप टावर निर्माणका लागि पालिकासँग सम्पर्क गरेर प्राविधिक खटाउने व्यवस्था मिलाइएको जनाउँदै अहिले निर्माण भइरहेका टावरबाट गुणस्तरीय र भरपर्दो सेवा दिन लागिएको पहाडीले जानकारी दिए ।


















