काठमाडौं । ‘सर्ट टर्म भिडियो होस्टिङ’ सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज (मंगलबार)का लागि पेसी तोकिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी परेको हो।
मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध शुक्रबार, मंसिर १ गते १० थान रिट निवेदनहरु सर्वोच्चमा दायर भएका थिए। टिकटक प्रतिबन्धनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटको संख्या हाल १४ थान पुगेको छ।
रिट निवेदनहरुमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ।
त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ। धेरै नागरिकले टिकटकमार्फत् सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ।
यसअघि सर्वोच्च अदालतले मंसिर ५ गते टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धनबाट कसैलाई अपुरणीय क्षति नपुगेको ठहर गर्दै अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको थियो।
त्यसपछि उक्त मुद्दामा आज (मंगलबार)का लागि पेसी तोकिएको थियो। मंगलबार न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा क्रमसंख्याअनुसार अन्तिम लहरमा भएका कारण रिटमाथि सुनुवाइको पालो आउने सम्भावना भने कम छ।


















