काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नास्ट० द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी पहिलो गैर आवासीय नेपाली वैज्ञानिक हुन्।
स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, ओएलइडी खाद्य पदार्थ आदिमा आवश्यक पर्ने नविन प्रकारका वातावरण मैत्री प्लास्टिक पदार्थहरुको विकास गरी पेटेन्ट तथा वैज्ञानिक प्रकाशनद्वारा नविन प्रविधि विकास गर्नुका साथै विदेशमा रही नेपाल साइन्स फाउन्डेशन ट्रष्ट लगायतका संस्था मार्फत संसारभरका वैज्ञानिक समुदायलाई नेपालका विश्व विद्यालय तथा प्रज्ञा प्रतिस्ठान र अनुसन्धान केन्द्रहरुसंग जोडेर नेपालको विज्ञान तथा प्रविधिको विकासमा योगदान पुराएकाले डा अधिकारीलाई उक्त पुरष्कार प्रदान गरिएको नाष्टले जनाएको छ।
उनी गैर आवासीय नेपाली संघको सीप, ज्ञान तथा नव प्रवर्तन विभागका पूर्व अध्यक्ष
पनि हुन्। दाङ्ग देउखुरी मुसुरियानिवासी डाक्टर अधिकारी हाल अष्ट्रेलियाको सीएसआइआरओ र आरएमआइटी विश्वविद्यालयमा प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्।
डा अधिकारीले २६ ओटा पेटेन्टहरु दर्ता गरेका छन् भने उनका झन्डै १०० ओटा अनुसन्धानमुलक लेखहरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन्। उनले विकास गरेको पोलिमर मुटुको भल्भमा पनि परीक्षण गरिएको छ।
उनले सन् १९८७ देखि १९९१ सम्म तत्कालिन शाही नेपाल विज्ञान तथा प्रविधि प्रतिस्ठान (रोनाष्ट) को केन्द्रीय अनुसन्धान प्रयोगशालाको पहिलो प्रमुख को रुपमा पनि काम गरेका थिए। उनले गैर आवासीय नेपाली संघ द्वारा हालै काठमाडौँमा आयोजित तेश्रो विश्व ज्ञान सम्मेलनको अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए।
गैर आवासीय नेपाली संघले प्रवासमा रहेका वैज्ञानिक प्रतिभाहरुको सीप र क्षमता नेपालको विकासमा उपयोग गर्न जोड दिंदै आएको छ।


















