काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्याउन ‘समाजवादी जागरण अभियान’ले समाजमा नयाँ तरङ्ग सृजना गरेको जनाएका छन्।
गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा पहिलो पटक आफ्नो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेको बताए। सो अभियानले देशको राजनीति नै तरङ्गित बनाएकाले अहिले अन्य पार्टीले पनि अवलम्बन गरिरहेको उनले सुनाए।
एकीकृत समाजवादीले अघि सारेको उक्त अभियान जनतासँग एकाकार हुन प्रभावकारी भएकाले अरूले पनि अनुसरण गरेको बताउँदै उनले भने, ‘राम्रो कामको अरुले पनि अनुसरण गर्छन्। पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यही पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिँडिरहेको छ।’
महासचिव घनश्याम भुसालले मुलुकमा राष्ट्रिय पूँजी परिचालन गरी उद्यमशीलताको विकास गर्न समाजवादको खाँचो औंल्याउँदै त्यसले रोजगारीका साथै उत्पादन वृद्धि गर्ने र राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालले वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न परिवर्तन पक्ष सबै एकमत हुनुपर्नेमा जोड दिँदै भेला, सम्मेलन र सभाको आयोजना गरी जनतालाई जानकारी गराउनुपर्ने जनाए।


















