बुटवल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको कामलाई तिव्रता दिन निर्देशन दिएका छन् । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले कामको गति निकै ढिलो भएकोमा असन्तुष्टि जनाए ।
सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै उनले यसको काममा लापरवाही नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे । ‘अहिले ८/९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’, मन्त्री ज्वालाले भने । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, बहाना बनाएर काममा ढिलाइ गर्न छुट नदिने बताए ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको अवधारणा अघि सारिएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्ग निर्माण गर्न ७ अर्ब ३४ करोड रुपैयाँम सम्झौता गरेको हो ।
यस्तै मन्त्री ज्वालाले बुटवल नारायणगढ सडकखण्डको पनि शनिबार नै निरीक्षण गरेका छन् ।
‘बुटवल नारायणगढ सडकमा पनि कामको गति बढेको छैन, सन्तुष्ट छैनौं’, मन्त्रीले भने, ‘अहिले स्थलगत निरीक्षण गरेर समस्या के हो, त्यसको समाधान गर्ने गरी छलफलमा समेत जुटछौ ।’ मन्त्री शर्माले यस सडकका बिषयमा नागरिकहरुको गुनासो निकै धेरै भएकाले अब कुनै पनि वहानामा काममा ढिलाइ नगर्न निर्देशन दिएको बताए ।
बुटवल नारायणगढ पश्चिम सेक्टर आयोजना प्रमुख शशांक मिश्रले पर्याप्त मात्रामा निर्माण सामग्री नपाउँदा काममा ढिलाइ भएको बताए । उनका अनुसार नारायणगढ बुटवल पश्चिम खण्डमा ३९ प्रतिशत काम भएको छ ।


















