चेलीबेटी बेचबिखनविरुद्धको गीत ‘हिंड माया हिंड’ सार्वजनिक

45

काठमाडौं । कलाकार हरिवंश आचार्यले चेलीबेटी बेचबिखनविरुद्ध गीत ल्याएका छन् । उनले यसअघि पनि यही कथावस्तुमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’ गीत ल्याएका थिए । यसपटक भने उनले गाएको गीतको बोल छ– ‘हिंड माया हिंड’ ।

माइती नेपालको प्रस्तुतिमा बनेको गीतमा आचार्यकै शब्द र संगीत छ । स्वरमा उनलाई स्मिता दाहालले साथ दिएकी छिन् ।

‘चेलीबेटी बेचबिखनबारेको जनचेतनामूलक गीत हो यो,’ गीतबारे हरिवंशले भने, ‘यो समस्या हाम्रो देशको नियतिजस्तै भइसक्यो । पहिले चेलीबेटीलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिका लगायत अन्य मुलुकतिर पनि सरेको छ ।’

उनले मसाज सेन्टर या डान्सबारको काम भनेर लैजाने तर त्यहाँ पुर्‍याएपछि देह व्यापारमा लगाउने, यातना दिने समस्यालाई गीतमार्फत प्रस्तुत गरिएको बताए । यस विषयमा निरन्तर जनचेतनामूलक गीत गाइरहने आचार्यले बताए ।

‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर देशको नियतिले बाध्य बनाइरहेकै छ,’ उनले भने ।

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकार प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायतको अभिनय छ । गम्भीर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँगाउँबाट युवतीहरुलाई ललाईफकाई गरेर विदेश पुर्‍याइन्छ भन्ने कथा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here