इरानमा ९ सय ७५ जनालाई मृत्युदण्ड

52

तेहरान । इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै ९ सय ७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले जनाएका छन्।

नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनल्टी (ईसीपीएम)’ का अनुसार सन् २००८ पछि इरानमा सन् २०२४ मा मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढी सङ्ख्या हो ।

इरानले मृत्युदण्डलाई ‘राजनीतिक उत्पीडनको मुख्य हतियार’का रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ, ‘यो आँकडाले सन् २०२४ मा इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ।’

आईएचआरका निर्देशक महमुद अमिरी मोगद्दामले भने, ‘यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड कायम राख्न आफ्नै जनताविरुद्ध गरेको युद्धको एक हिस्सा हो।’

‘इरान र इजरायलबीच युद्धको खतरा बढ्दै जाँदा वर्षको अन्तिम तीन महिनामा हरेक दिन औसतमा पाँच जनालाई मृत्युदण्ड दिइएको छ,’ उनले भने । इरानमा सन् २०२३ मा ८३४ जनालाई मृत्युदण्ड दिइएको थियो । गत वर्षको तुलनामा यो वर्ष मृत्युदण्डको सजाय पाएकाको सङ्ख्या १७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here