नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने : माकुने

22

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने जनाएका छन् ।

बुधबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारले भ्रष्टाचारका केश (मुद्दा) मा चासो राखेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “सरकारले भ्रष्टाचारका विषयमा कडाइ गरेको छ, दण्डित गर्ने कदम चालेको छ भनेर प्रशंसा भएको छ ।” कामको आधारमा सरकारको प्रशंसा र आलोचना गर्ने उल्लेख गर्दै उनले भने, “आलोचना, निन्दा गर्नेहरु पनि हुन्छन्, प्रशंसा गर्नेहरु पनि हुन्छन् ।”

आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे उनले यही गठबन्धनबीच तालमेल हुने बताए । गठबन्धनका दलबीच छलफल गरेर सिटको टुङ्गो लाग्ने उल्लेख गर्दै नेता नेपालले गठबन्धनबीच सिटको बाँडफाँट भएपछि आफ्नो पार्टीले उम्मेदवारका विषयमा मापदण्ड बनाउने जनाए ।

“कति सिट हाम्रो भागमा पर्ने हो, कुन प्रदेश र कुन क्लस्टरमा हाम्रो भाग पर्ने हो । यी कुरा टुङ्गो लागिसकेपछि हामीले मापदण्ड बनाएर उम्मेदवार चयन गर्छौं,”– उनले भने ।

पार्टीभित्र राष्ट्रियसभामा जाने व्यक्तिको कुनै कमी नभएको भन्दै उनले उम्मेदवारको लर्को लागेको जनाए ।

नेत्रविक्रम चन्द्र (विप्लव) लगायत नेतालाई पक्राउ पुर्जी जारी भएको विषयमा अध्यक्ष नेपालले पक्राउ पुर्जी जारी हुनु अनुचित भएको बताए । “हामी समाजवादी मोर्चामा पनि छौँ र गठबन्धन सरकारमा पनि छौँ, कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ । तर, उहाँहरुमाथि जुन गिरफ्तार गर्ने वारेन्ट जारी भएको छ, यो अनुचित छ,”– अध्यक्ष नेपालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here