कपिलवस्तु । कपिलवस्तुमा कुष्ठ रोगका बिरामीको सङ्ख्या बढेको छ। पछिल्लो ३ वर्षको कृष्ठरोगसंग सम्बन्धित ईपिडिमियोलोजिकल तथ्याङ्कले जिल्लामा कुष्ठरोगका बिरामीको सङ्ख्या बढ्दै गएको देखाएको हो । उक्त तथ्याङ्कअनुसार नयाँ बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७७–०७८ मा १२८ जना थिए भने आर्थिक वर्ष २०७८–०७९ मा १२३ जना छन् ।
तर आर्थिक वर्ष २०७९–०८० मा नयाँ बिरामीको सङ्ख्या बढेर १६७ पुगेको छ । आइतबार कपिलवस्तुको जिल्ला सदरमुकाम तौलिहवामा सरोकारवालाहरूबिच कुष्ठरोगसम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
तथ्याङ्क अनुसार जिल्लाका १० पालिकामध्ये आर्थिक वर्ष २०७९–०८० मा महाराजगन्जमा सबैभन्दा धेरै २६ जना नयाँ कुष्ठरोगका बिरामी पत्ता लागेका छन् । यस्तै शिवराज र विजयनगरमा २५ जना, बुद्धभूमिमा २३ जना, कृष्णनगरमा २१ जना, बाणगंगामा २० जना, शुद्धोधनमा १५ जना, कपिलवस्तुमा ११ जना र यशोधरामा १ जना गरी कपिलवस्तु जिल्लामा जम्मा १६७ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेका छन् । तथ्याङ्कअनुसार मायादेवी गाउँपालिकामा कुष्ठरोगका बिरामीको सङ्ख्या शून्य छ ।
उक्त पालिकामा बिरामीको सङ्ख्या शून्य हुनुको कारण बिरामी पहिचानको कार्यक्रम नै सञ्चालन नगर्नु हो । तथ्याङ्कले १४ वर्ष भन्दा कम उमेरका बिरामीको सङ्ख्या १० जना देखाएको छ । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले आफ्नो पालिकामा कुष्ठरोगका बिरामीको पहिचान गर्ने कामको थालनी गरेको बताएका थिए ।
उनले यस रोगको समयमै पहिचान गरेर थप भयावह हुन नदिने अवस्था सिर्जना गर्न सबैले जनचेता फैलाउन आवश्यक रहेको बताए । उनले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरेर पालिका अघि बढ्ने समेत प्रतिवद्धता जनाएका छन् ।
कुष्ठरोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्छ । यो रोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने हुन्छ र विस्तारै यस रोगले मांसपेशी कमजोर बनाइदिन्छ ।
त्यस्तो छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन । उपचार नगरेको कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । सरुवा रोग भएपनि यो ज्यादै कम सर्छे । साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्न थाल्दछ । समयमा यस रोगको पहिचान र उपचार नभए कुष्ठरोगीका शरिरका भागहरु कुहिई अपाङ्ग हुन्छ ।
यो दुई प्रकारको हुन्छ । (एमबी) बढी किटाणु भएको र (पीबी) कम किटाणु भएको । कम किटाणु भएका कुष्ठ रोगिले ६ महिना, बढी किटाणु भएकाले एक वर्ष औषधि सेवन गरे यो रोग पूर्णरुपले निको हुन्छ । यो औषधि नेपाल सरकारले निशुल्क उपलब्ध गराउछ । आफ्नो नजिकको स्वास्थ्य चौकिमा गएर औषधि लिन सकिन्छ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । उपचार गरेको दुई महिना पछि यो रोग अरुलाई सर्दैन ।
यस रोगबाट प्रभावित विरामी स्वयमले पनि सावधानी अपनाउन आवश्यक छ । ओषधिले मात्र रोग निको पार्न सक्दैन । जसले गर्दा कुष्ठरोगीले धेरै बेरसम्म एकै अवस्थामा नबस्ने, नरम जुत्ता लगाउने, चेतनाशक्ति हराएका हातखुट्टालाई चोटपटक र तातोबाट बचाउने, हातखुट्टा सुख्खा भएमा चिसो पानीमा छाला नरम नभएसम्म भिजाएर कडा छाला धारिलो चुच्चो नभएको बस्तुले खुर्कने, चिसो हात खुट्टामा तेल लगाउने । आँखामा असर भएको बिरामीले दिनमा कालो चस्माको प्रयोग गर्ने र राति सुत्दा सफा कपडाले आँखा ढाकेर सुत्ने गर्नुपर्दछ ।

















