काठमाडौं । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई) ले जनाएको छ ।
परिसंघले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार दुई वर्ष अगाडिको तुलनामा बजारमा समग्र माग ३६.९३ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आएपनि त्यसको तुलनामा समेत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अर्थतन्त्रमा सुधार नआएको परिसंघको अध्ययनले देखाएको छ ।
‘सर्वेक्षणमा कच्चा पदार्थको मूल्य बढेको देखियो । माग ३६.९३ प्रतिशतले घटेको देखियो,’ प्रतिवेदन सार्वजनिक गर्दै परिसंघले भनेको छ, ‘कारोबारमा समेत ३०. ५४ प्रतिशतले गिरावट भएको छ ।’
अध्ययन प्रतिवेदन अनुसार नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको उल्लेख छ ।
गत वर्षको तुलनामा अटोमोबाइलमा डिमान्ड र कर्जा दुवै बढेपनि तीन वर्ष अगाडिको तुलनामा धेरै घटेको परिसंघले जनाएको छ ।
यस्तै सिमेन्टमा कच्चा पदार्थको मूल्य बढ्को र डिमान्ड घटेको तथ्याांक सर्वेक्षणमा आएको छ । सिमेन्टको कारोबार समेत घटेको परिसंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

















