काठमाडौं । संघीय संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा गृहमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने एमालेको भनाइ छ।
सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले बालकुमारी घटनामा कमजोरी देखिएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
‘युवाले विदेश गएर गरी खान माग गर्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिए कसले दिन्छ?’ राईले भने, ‘समस्या समाधान गर्ने कि, ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ? शालिनतापूर्वक भन्छु तपाईंले मुलुक चलाउन सक्नु भएन राजीनामा दिनुस्।’ घटना तोडमोड गरेर प्रस्तुत भएको भन्दै उनले आपत्ति समेत जनाए।
सांसद राईले मन्त्रीका पीएसओ र फिल्ड कमान्डर, डीएसपीलाई कारबाही गरेर नहुने भन्दै आईजी वा गृहमन्त्रीलाई कारबाही हुनुपर्ने बताए।


















