मन्त्री प्रकाश ज्वाला नआएको भए बालकुमारी घटना नहुने

63

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको जनाएका छन् ।

बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको  धारणा छ । राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे जानकारी दिँदै महानिरीक्षक कुँवरले सो कुरा जनाएका हुन् ।

बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने एकिन नभएको उनले जनाए । ईपीएस भाषा परीक्षार्थीहरुले गरेको प्रदर्शनमा पुस १३ गते बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो । सोही घटनामा दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । एक जनाको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

अर्को एक जना मृतकको छातीमा बन्दुकको कुन्दाले हानेको जस्तो देखिने डाम थियो ।

घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उनले जनाए। उनका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उनले जनाए। रबरको गोली, हवाई फायर र अश्रुग्याँस प्रहार गरेको उनले जनाए।

प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११ः५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले जनाए । ११ः५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको उनले सुनाए ।

कम बल प्रयोग गरेर जाने नीति अनुसार प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको उनको धारणा छ । यद्यपि काम गर्ने क्रममा सञ्चार सेट लगायतका साधन स्रोतको कमी भएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here