काठमाडौं । एमाले सांसद रघुजी पन्तले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाउनुपर्ने प्रस्ताव गरेका छन्। संवैधानिक परिषद्को मुद्दालाई निष्पक्ष ढंगले सम्पादन गर्नलाई पनि प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्लाई विदा गर्न आवश्यक रहेको उनको तर्क थियो।
सिंहदरबारमा आइतबार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका सांसद पन्तले प्रधानन्यायाधीश पटक–पटक विवादास्पद बन्न पुगेकाले पनि संवैधानिक परिषद्लाई सामेल गर्ने कुरा उपयुक्त नहुने जिकिर गरे।
उनले प्रतिनिधि सभाका उपसभामुखलाई पनि सो परिषद्बाट हटाउन उपयुक्त हुने सुझाव दिए। विगतमा दलीय प्रतिनिधित्वका लागि सो परिषद्मा उपसभामुख राखेको भए पनि संसदीय अभ्यासले अब त्यसको आवश्यक्ता नदेखिएको सांसद पन्तको भनाइ थियो।
सांसद पन्तले आफूले महिला उपसभामुख भएकाले सो पदलाई संवैधानिक परिषद्मा राख्न नहुने भन्ने मान्यता भने नलिएको दोहोर् याए। विधेयकमा संवैधानिक परिषद्मा ६ जना सदस्य रहने प्रावधान राखिएको छ।

















