पूर्व डीआईजी महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सजाय सुनाउँदै

22

काठमाडौं ।  नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार सजाय सुनाउँदैछ। उनीहरुलाई सजाय निर्धारणका लागि बुधबार नै पेसी तोकिएको छ।

विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पुस ११ गते दोषी ठहर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते बुधबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। दोषी ठहर भए पनि उनीहरुको हकमा सजाय निर्धाणरण गर्न भने बाँकी  थियो। आज बहसपछि उनीहरुलाई  बिगो जरिवाना र कैद तोकिनेछ।

जवानको तलब-भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहेका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु, लेखा सहायक हवल्दार केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखे विरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भइ २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब-भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, लेखापाल पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरुको २०७२ माघ र फागुनको तलब-भत्ता समेत खर्च निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो।

shivam cement
nimb

त्यस्तै मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत महेशविक्रम शाह, लेखापाल पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीले प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०७२ माघ ११ गतेको पत्रले माघ महिनाको तलब/भत्ता खान पाउने गरी सरुवा भएका १०३ प्रहरी जवानको माघ र फागुन महिनाको तलब-भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ निकालेर खाई भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो।

२०७२ माघ ३ गतेदेखि १४२ जना जवान भर्ना भएका थिए। तर शाहकै डिजाइनमा माघ १ गतेबाटै गणना गरेर २ दिनको तलब १ लाख ४९ हजार ६ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको थियो। शाहसहितले जम्मा ३३ लाख ३८ हजार ८४ रुपैयाँ भ्रष्टाचार गरिएको अख्तियारले दाबी गरेको थियो। शाहकै नेतृत्वमा तलब-भत्ता तलबी भर्पाइमा कीर्ते दस्तखत गरी बदनीयतसाथ हिनामिना गरी बाँडिचुडी खाएको दाबी अख्तियारको अभियोगपत्रमा गरिएको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाह लेखक समेत हुन्। शाहले २०६३ सालमा प्रकाशित आफ्नो कथासंग्रह ‘छापामारको छोरो’का लागि मदन पुरस्कार प्राप्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here