सहकारीबाट लुटिएकाहरुको उद्धार गर्नु रविको कर्तव्य हो

20

–निमकान्त पाण्डे

चाहे सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा, केही वर्षयता निरन्तर चर्चामा रहेका पात्र हुन्, रवि लामिछाने । अमेरिकाबाट फर्किएर सञ्चार कर्ममा लागेका रविले आफ्नो आक्रामक अन्दाजसहित टेलिभिजन कार्यक्रम चलाए । त्यतिबेला उनले कहिले नेता, कहिले कर्मचारी त कहिले ठेकेदारलाई कडा प्रश्न होस् वा गाली गरेर चर्चा पनि पाए । जनताको आकर्षण खिच्न जानेका रविले त्यसका लागि विदेशमा अलपत्र रहेका मजदूरको उद्धार गरेर होस् वा दूरदराजमा रहेका उनीहरुका परिवारलाई भेटेर होस्, वाहवाही कमाए । तर, सँगसँगै टेलिभिजन कार्यक्रमको प्रयोग गरेर व्यवसायीसँग रकम बार्गेनिङमा रहेकोदेखि विभिन्न अनियमिततामा संलग्न भएको आरोप उनीमाथि लाग्यो । जेल पनि गए ।

रविको यात्रा यहीँसम्म रोकिएको भए, सायद आज पंक्तिकारले यो आलेख लेख्न आवश्यक पर्दैन थियो होला । तर, छोटो समयमै लामो छलाङले उनी अहिले पनि चर्चाको केन्द्रमा छन्, जसका कारण उनी र उनका कार्यमाथि बहस आवश्यक भएको छ । टेलिभिजन कार्यक्रमको चर्चाको लोभ र गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षणका कारण उनले राजनीतिमा पनि सम्भावना देखे । त्यही कारण आफ्नो मित्र रहेका गितेन्द्र राई (जीबी) सँगको सहकार्यमा खोलेको ग्यालेक्सी टिभीबाट छुट्टिएर उनले राजनीतिमा पाइला चाले, राष्ट्रिय स्वतन्त्रता पार्टी गठन गरे । रविकै लोकप्रियताका कारण रास्वपाले गन प्रतिनिधिसभा चुनावमा चौंथो स्थान हासिल ग¥यो भन्दा अत्युक्ति कदापि हुँदैन ।

तर, रवि र विवाद अहिले पर्यायवाची शब्द जस्ता देखिएका छन् । राजनीतिमा पनि विवादले रविलाई छोडेको छैन । झन् उनी त विवादको भूमरीमा फस्दै गएका छन् । चुनावमा पहिलो सहभागितामा रास्वपा चौंथो पार्टी बनेपछि प्रचण्डको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री नै बने । एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत लगायत दल मिलेर त्यो सरकार बनेको थियो । तर, गृहमन्त्री बन्नेबित्तिकै रविमाथि दोहोरो नागरिकता लिएको र राहदानी दुरुपयोग गरेको आरोप लाग्यो । त्यही कारण उनको गृहमन्त्री र सांसद पद खोसियो । पुनः निर्वाचनमा उनी फेरि निर्वाचित भए र जनता आफ्नो साथमा रहेको प्रमाणित गर्न सफल भए ।

त्यसयता सरकारमा सहभागी नभएको रास्वपाका सभापति रवि अहिले सहकारीको रकम दुरुपयोगको आरोप झेलिरहेका छन् । प्रत्यक्ष संलग्नता नदेखिए पनि रवि यो विवादमा मुछिएका भने छन् । रविका मित्र जीबी राईका विभिन्न सहकारीको रकम ग्यालेक्सी टिभीमा लगानी गरिएको थियो । त्यसरी रकम लगानी गर्नु गैरकानुनी थियो । टिभी असफल हुँदा अहिले हजारौं सहकारी सदस्यको करोडौं रकम त्यसमा डुबेको छ । जसका कारण सहकारी पीडित आफ्नो रकम फिर्ताको मागसहित आन्दोलनरत छन् । पोखरा, चितवन, बुटवललगायत स्थानमा राईको नेतृत्वमा विभिन्न सहकारी खुलेका थिए । रविको गुडविलका कारण राई ती सहकारीको रकम गैरकानुनी रुपमा ग्यालेक्सीमा लगानी गरेका थिए । त्यसमा रविको संलग्नता के कति छ, त्यो अनुसन्धानको विषय नै भयो । तर, त्यही कारण अहिले हजारौं सहकारी सदस्यको बिचल्ली भएको छ ।

सञ्चारमाध्यममा आएअनुसार पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेका पाइएको छ । ग्यालेक्सीका अध्यक्ष जीबी हुन् भने सञ्चालकताका रवि प्रबन्ध निर्देशक बनेका थिए । जीबी अहिले फरार छन् । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ हिनामिना भएको अहिले सार्वजनिक भएको छ । यस्तै, सोही समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी बन्द भएका छन् ।

जीबी राई रवि लामिछानेका अभिन्न मित्र हुन्, साझेदार हुन् र रविकै लोकप्रियताको प्रभावबाट जीबी राईले जनताको विश्वास आर्जन गरेर सहकारीहरुमा रकमको थुप्रो लागेको हो । रविकै लोकप्रियताका कारण जीबीले ग्यालेक्सीमा लगानी गरेको पनि स्पष्ट छ । तर, सहकारीबाट निजी कम्पनीमा लगानी हुनु गैरकानुनी थियो भन्ने रविले हेक्का राख्न सकेनन् र त्यस्तो लगानी भएको टिभीमा आबद्ध भए । यदि उनको यसमा चलखेल थियो भने त सरकारले अनुसन्धानको कारबाहीको दायरामा ल्याउनुपर्छ । रवि स्वयंले त आफूलाई यसबारे जानकारी नै नभएको दाबी गरेका छन् । तर, उनले भनेजस्तै सहकारीको पीडितको रकम फिर्ता गर्न भने कडा रुपमा लाग्नु उनको कर्तव्य हो । उनी सांसद रहकै क्षेत्रका चितवनवासीको पनि सहकारीमा रकम डुबेको छ । त्यसलाई फिर्ता गर्न र सहकारी कोही पनि पीडित नहुने गरी कानुन निर्माणमा लाग्न उनको भूमिका महत्वपूर्ण हुनेछ । जनधारणा साप्ताहिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here