काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी महोत्सवको तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए ।
उनले भने, ‘माघी महोत्सवको तयारी लगभग पूरा भइसकेको छ। थारू खाना परिकार, हस्तकला प्रदर्शनी, पुस्तक, पत्रपत्रिकाका लागि भनेर करिब १०० वटा स्टल बनाएका छौं।’ उनका अनुसार स्टेज लगभग पूर्ण रुपमा बनिसकेको छ भने कलाकारका लागि स्टेजको पुर्वपटि र पत्रकारहरूका लागि स्टेजको पश्चिमपटि बस्ने स्टल बनाइएको छ ।
‘भोलि विहान १० बजे झाँकी र्याली निकाल्नेछौं। त्यसपछि झाकी र्यालीपछि दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘थारू भाषा, संस्कृति र जनचेतनाको लागि प्रदर्शन, थारू परिकारहरूका साथै थारुको पौराणिक नाँच/गान गर्ने तयारी गरेका छौं।’
२० भन्दा थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब १०० भन्दा बढी स्टलहरू रहने उनले जनाए ।
आज पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम राखिएको छ भने साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गरेकी छिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।
यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाँचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।
महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।
बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राखिने छ । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने जनाए ।
हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री बितरणमा थारु हस्तकला तथा थारु जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्र पत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।
साथै हस्तकलाका सामग्रीहरु भेषभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा समेत राखिने छ । महोत्सवमा सहभागि भएकाहरुले मन पराएका हस्तकला तथा पुस्तकहरु निश्चित दरमा खरिद गर्न सक्नेछन् ।
महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब १५ लाख रुपैया खर्च हुने अनुमान गरिएको उनले जनाए ।

















