शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित

24

रौतहट । डेढ सातादेखि लगातार बढेको शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । जिल्लाका गरिब तथा विपन्नहरुको बस्तीमा यतिबेला जाडोले जनजीवन नराम्रोसँग प्रभावित भएको हो ।

जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई यतिबेला बिहान बेलुकाको छाक टार्न समेत हम्मेहम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका रौतहटका गरिब तथा विपन्नहरुका लागि अहिलेको शीतलहरी र ठन्डी अभिसाप बनेको छ । घरमा पर्याप्त मात्रामा ओड्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरु पराल ओछ्याएर सुत्न बाध्य भएका छन् ।

जिल्लाका गरिब तथा विपन्नहरुका बस्तीमा यतिबेला उनीहरुको सहारा पराल बनेको छ । पराल नै ओछ्याएर परालनै बालेर तापेर उनीहरू यतिबेला रातदिन कटाउन बाध्य भएका छन् । घरमा पर्याप्त ओढ्ने ओछ्याउने नभएका कारण उनीहरु पराल बालेर घुर ताप्न बाध्य भएका हुन् । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने दलित तथा विपन्नहरूको बस्तीमा यतिबेला कामको अभावमा उनीहरू घरमै पराल तापेर बस्न बाध्य भएका छन् ।

चिसोका कारण दैनिक ज्याला मजदुरी गर्न समेत उनीहरूलाई समस्या परेपछि उनीहरू घरै बस्न बाध्य भएका हुन् । चिसोका कारण अहिले बाल बच्चामा विभिन्न रोग देखा पर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर – ५ नहर टोलकी तेतरिया देवीले बताइन् ।

रौतहटका विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै सामग्री वितरण नगरेको उनीहरूको गुनासो रहेको छ । तराई मधेसका जिल्लामा हरेक वर्ष शीतलहरीका कारण सर्वसाधारणहरू पीडित बन्दै आएका छन् । केही दिनदेखिको लगातारको शीतलहरी र चिसो हावाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ भने गरिब तथा विपन्न बस्तीका सर्वसाधारण यसको मारमा परेका छन् ।

चन्द्रपुर नगरपालिका–५ को नहरटोलमा रहेको गरिब तथा विपन्न बस्तीको अवस्था यतिबेला दर्दनाक बनेको छ । उनीहरू पराल ओछ्याएर सुत्न बाध्य छन् भने परालै ओडेर दिन कटाउन बाध्य बनेका छन् । जिल्लाका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न बस्तीका सर्वसाधारणका लागि स्थानीय तहले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसक्दा सर्वसाधारणहरू मारमा परेको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

पानी नै चुहिने फुसको घरमा तप तप चुहिने शीतलहरीको बेलामा समेत उनीहरु पराल ओछ्याएर कष्टकर तरिकाले रात तथा दिन बिताउन बाध्य भएको चन्द्रनिगापुरका शम्भु चमारले गुनासो गरे । रौतहट सहित तराई मधेसका जिल्लाहरूमा हरेक वर्ष जाडोले कठ्याङ्ग्रिएर ज्यान गुमाउनेहरूको संख्या समेत बढ्दै जाँदा पनि स्थानीय तह तथा प्रदेश सरकारले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ ।

जाडोबाट बच्न रौतहटका केही स्थानीय तहले डिभिजन वन कार्यालय रौतहटसँग सहकार्य गरेर दाउरा वितरण गर्दै आएको भएपनि यस वर्ष गरिब तथा विपन्न बस्तीमा दाउरा समेत नपुगेका कारण उनीहरु पराल बालेर आगो ताप्न बाध्य भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here