संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम गर्न पुनः आह्वान गरेका छन् । गाजाको दयनीय अवस्था शब्दमा बयान गर्न नसकिने भन्दै उनले तत्काल युद्ध रोक्न भनेका हुन् ।
हमासले गरेको हिंसालाई कुनैपनि कुराले न्याय दिन नसक्ने उनको तर्क छ । महासचिव गुटेरेसले गाजामा भएका हिंसा र अत्याचारले वित्तीय संकटलाई थप जटिल बनाउँदै लगेको पनि बताएका छन् । उनले भनेका छन्, ‘कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसाले प्यालेस्टिनी प्राधिकरणको लागि पहिलेदेखि नै गम्भीर वित्तीय संकटलाई झन् जटिल बनाउँदै लगेको छ ।’
गाजामा भोकमरीको अवस्था आएको र यसले विभिन्न रोग तथा महामारीको खतरा बढेको पनि उनले बताएका छन् । गाजामा सहायता वितरणमा ठूलो बाधाहरू आइरहेको उनको भनाई छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि त्यसको प्रतिरोधमा उत्रिएको इजरायलले गाजा शहरमा नाकाबन्दी गरेर हवाई हमाला गरिरहेको छ । जसका कारण निहत्था प्यालेस्टाइनीहरुले ज्यान गुमाउनुपरेको छ ।


















