–प्रीति रमण
नेपाल सरकारको असफलता दर्शाउने योजनामध्येको एक हो, मेलम्ची खानेपानी आयोजना । दशकौं लगाएर यो खानेपानी आयोजना सम्पन्न भए पनि र काठमाडौंमा पानी ल्याइए पनि यसमा विभिन्न समस्या समयसमयमा देखिरहेका छन् । यही विषयलाई राजनीतिक नेतृत्वले पनि आफ्नो स्वार्थपूर्तिका लागि विभिन्न समयमा प्रयोग गर्दै आएका छन् । यसकै पछिल्लो उदाहरण हो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको पाँचौं पटक उद्घाटन गर्नु । पानी अभावका कारण काकाकुल बन्ने अवस्थामा पुगेको काठमाडौंका लागि दशकअघि ठूलो सपनाको रुपमा मेलम्ची खानेपानी आयोजना आइपुगेको थियो । तर, यो योजना बन्न नै लामो समय लाग्यो । आयोजना बनिसके पनि हालसम्म पनि काठमाडौंवासीले राम्रोसँग यो आयोजनाबाट खानेपानी प्रयोग गर्न पाएका छैनन् ।
लोकतन्त्र जस्तै मेलम्ची खानेपानी आयोजना निर्माणपछि काठमाडौंवासीलाई पानीको छेलोखेलो हुने सपना देखाइयो । मेलम्चीको पानी काठमाडौंको सडकमा खोलोको रुपमा बगाइने बताइयो । त्यही सपना देखाएर यो आयोजनामा अर्बौं रुपमा खर्च गरियो । तर, दीर्घकालीन रुपमा योजना बनाउन नसक्दा यो आयोजनामा वर्षेनि समस्या देखिएको छ । काठमाडौंवासीको आशा पनि खेर गएको छ । यही कारण हालै प्रधानमन्त्रीले पाँचौं पटक मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरे । सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्, ।।।हामीसँग भएको एउटा मन कतिपल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर ।’
मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा पाउनुहोस्,’ भन्दै बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी र हालका प्रधानमन्त्री प्रचण्डले गरेको उद्घाटनको मिति समेत उल्लेख गरेका छन् । मेयर बालेनले राजनीतिक स्टन्टका लागि प्राविधिक पक्षलाई बेवस्ता गरेर यसअघि मेलम्चीको पानी उद्घाटन भएको उल्लेख गर्दै अहिले पनि त्यसबारे सोच विचार नगरिएको बताएका छन् । मेयर बालेन आफैंमा इन्जिनियर भएकाले पनि उनको यो सुझाव विचारणीय छ । उनले भनेका छन्, ।
प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनीतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौं ल्याउन खोज्नु उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो । यसैले छिटोको नाममा नागरिक तहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिक लाभका लागि प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।’ मेलम्चीको खानेपानी आयोजनामा पहिरो र बाढीको जोखिम छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । यस्तै, पहिरो र बाढीका कारण विगतमा यो आयोजनाको मुहान थुनिएको थियो । त्यो पहिरो झरेर मुहान कुनै पनि बेला थुनिन सक्छ । बालुवा भएको सुरूबबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदै छ ।
त्यसैले बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै सुरुबमा पसेर सुरुब नै भरिन सक्छ, जसलाई निकाल्न वर्षौं समय र अर्बौंको लागत लाग्न सक्छ । यस्तै, वर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका नै छैनन् । यसैले वर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु पर्ने अवस्था छ । प्राविधिकहरुका अनुसार हिउँदमै पनि लेदो नथिग्राई सिधै पानी सुरुबमा लैजाँदा त्यसमा भएका बालुवा सुरूबमा बिस्तारै थिग्रिएर केही समयपछि सुरूब पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन सक्छ । त्यसैले सरकारले प्राविधिकहरुको सुझावलाई मनन गर्न आवश्यक छ । नत्र राजनीतिक स्टन्ट मत्र गर्ने हो भने यसले राज्यलाई अर्बौंको लगानी क्षति हुने जोखिम छ । त्यसैले मेयर बालेनले पनि भनेका छन्, ।


















