काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने जनाए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको जनाए।
उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवालाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए। उनले अब पनि वकवक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे। उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नुपर्ने आवश्यकता रहेको जनाए ।
उपप्रधानमन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई फड्कोकारी रूपमा विकास गर्ने नीति सरकारले लिएको जनाए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तीव्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने जनाए । उनले निर्माण प्रक्रियालाई तीव्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको जनाए।


















