काठमाडौं । आजदेखि सहिद सप्ताह सुरू भएको छ। जहानियाँ राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा सहिद सप्ताह मनाइँदै आएको हो।
सहिदहरुको सम्झनामा काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माग १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने गरिन्छ ।
नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा शुक्रराजलाई झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।
शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान सम्झदैँ नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको जनाए। देशका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति सम्मान व्यक्त गर्दै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।

















